सहकारी इतिहासमा बेलायतको रोचेडेल शहरबाट सुरुवात भएको सहकारी अभियान नेपालमा वि.सं. २०१३ चैत्र २० बाट चितवन जिल्लामा पहिलो बखानपुर ग्रामीण सहकारी संस्था खुलेदेखि सहकारी संस्थाहररू नेपालमा पनि खुल्ने क्रममा २०५३ साल कात्तिक १३ गतेबाट किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भ जम्मा ३४ जना सदस्य र जनही रु ५० उठाई १७ सय रुपैयाँबाट सुरु भएको साकोस हो ।
यसरी स्थापना भएको किसान कल्याण साकोस निरन्तर आफ्नो यात्रामा अगाडि बढ्ने क्रममा २०७७ सालमा आएर हाम्रो छाता सङ्गठन नेफ्स्कुनद्वारा नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएको छ भने २०६८ मा एसियाली ऋण महासङघमा सहभागी भएदेखि विभिन्न ब्रान्ड प्राप्त गर्दै आज आएर सिल्भर ब्रान्डप्राप्त साकोस हुनपुगेको छ।
यसरी किसान कल्याण साकोसको प्रारम्भदेखि आजसम्मको यात्रामा किसान कल्याण साकोसका महिला सबैभन्दा पहिला नै देखिन्छ । २०५३ सालमा ३४ जना सदस्यहरुबाट सुरु भएको संस्थामा २०७७ साल पौष मसान्तसम्म १४३५९ पु¥याउन सफल भएको छ जसमा पुरुष ५८७६ महिला ८४८३ छन् । यसरी किसान कल्याण साकोसको सदस्य वृद्धिदरलाई हेर्दा पनि महिलाको संङ्ख्या अग्रपङ्तिमा देखिएकाले किसान कल्याणका महिला सबैभन्दा पहिला देखिन्छन् । सहकारीमा सबै जातजाति, धर्म, वर्ग र समुदायका महिलाहरूको सहभागिताले सामाजिक सद्भाव बढ्नुका साथै सदस्यहरूका बीच आफ्ना समस्या र प्रगतिहरूको बारेमा छलफल गर्दा अरू बढी आत्मीयता बढेको देखिन्छ ।
आर्थिक रूपमा विपन्न महिला, हेपिएका महिला, व्यवसायी महिला, कृषि क्षेत्रका महिला, उद्यमी एकल महिला, सामाजिक छविको विकास गर्ने महिला, नवीनतम प्रविधिको स्रोत र साधनको खोजीमा लागेका महिला, महिला सशक्तीरणमा लागेका अगुवा महिला, राजनीतिक क्षेत्रका महिलाहरू र आफ्नो जीवनको, परिवारको, समाजको, राष्ट्रको र विश्वको उन्नति र प्रगति चाहने महिलाहरू लागि किसान कल्याण सबैभन्दा पहिला छ । यसरी किसान कल्याण साकोसमा आबद्ध हुनुभएका महिलाहरू र आबद्ध हुन बाँकी महिलाहरुका लागि व्क्तित्व, नेतृत्व र आर्थिक, सामाजिक, राजनैतिक विकासका लागि महिलाहरूलाई विभिन्न तालिम गोष्ठी, सिप, उद्यमशीलता सम्बन्धी तालिम, च्याउखेती, बेमौसमी तरकारी खेती, बाँसजन्य सामग्री निर्माण तालिम, क्रिस्टलका गहना बनाउने तालिम, योगशिविर, स्वास्थ्यशिविर, सदस्य शिक्षा, टोलभेला आदि सबै कार्यक्रम महिलाहरूलाई सहभागी गराई सबै क्षेत्रमा सक्षम बनाउने उद्देश्य राखेको हुँदा किसान कल्याणका महिला सबैभन्दा पहिला हुने अवस्था छ ।
किसान कल्याण साकोसमा आबद्व महिला सेयर सदस्यहरुले साकोसबाट लिने ऋण सुबिधाबाट पनि सबैभन्दा धेरै क्षेत्रमा महिलाहरुले नै सुविधा लिएको देखिन्छ भने ऋण सुबिधाबाट विभिन्न व्यापार व्यवसाय देखि अन्य क्षेत्रमा पनि किसान कल्याणका महिला सबैभन्दा पहिला नै देखिन्छ । किसान कल्याण साकोसमा रोजगारको हिसाबले पनि पुरुष कर्मचारीहरूको तुलनामा महिला कर्मचारीको सङख्या नै अग्रपङ्क्तीमा रहेको हुनाले किसान कल्याण साकोसमा महिला सबैभन्दा पहिला देखिन्छ । त्यसैगरी नेतृत्वको हिसाबमा २०७४ को सहकारी एेन अनुसार महिलालाई प्रर्वद्धन गर्ने धारा ४१ को २ मा सञ्चालक समिति गठन गर्दा उपलब्धताको आधारमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान भए पनि नेतृत्व तहमा महिलाहरूको सङ्ख्या ३३ प्रतिशत पुगिरहेको अवस्था भने छैन ।
यसैले गर्दा साकोसमा आएर नेतृत्व विकास गर्न चाहने महिला सेयर सदस्यहरूले नेतृत्व तहसम्म आउनको लागि किसान कल्याण साकोसमा प्रक्रियागत रूपमा सहभागी भई केही वर्षमै किसान कल्याण साकोसको निर्णायक तहमा महिलाको सङ्ख्या वृद्धि हुने निश्चित भएकाले सबै महिला सेयर सदस्यहरुलाई हाम्रै घर आँगनको किसान कल्याण साकोसमा सक्रिय रूपमा सहभागी भै आफ्नो सर्वाङ्गीण विकास गरी अघि बढ्न म आह्वान गर्दछु । यसरी किसान कल्याण साकोसमा आबद्ध सेयर सदस्य महिलाहरूको लागि आर्थिक वर्षभरि नै सदस्यले समूह बनाएर आफूलाई आवश्यक तालिम तथा गोष्ठीहरुको माग गरेमा साकोसले सबैभन्दा पहिलो प्राथमिकतामा राखेको छ ।
सहकारी अभियानमा सहभागी हुँदा महिलाहरूको क्षमता विकासका साथै आर्थिक रूपमा आत्मनिर्भर भई सामाजिक हैसियत बढाउँदै समाजलाई सुसंस्कृत र सभ्य बनाउन र परिवारको लागि आर्थिक उन्नतिका पाटाहरुलाई थप बल पुर्याउँछ । वर्तमान परिवेश तथा आगामी दिनमा सहकारी अभियानमा लाग्ने महिलाहरूका अवसर र चुनौतीहरु पनि छन् ।
अवसरहरू :-
१ उत्साहजनक सहभागिता हुने ।
२ आत्मबलको विकास हुने ।
३ आर्थिक आत्मनिर्भरता हुने ।
४ बढ्दो सामाजिक हैसियत हुने ।
५ नेतृत्व र व्यक्तित्व बिकासका लागि सहज माध्यम हुने ।
६ स्पष्ट वक्ता बन्न सहज हुने ।
७ बचत गर्ने बानी हुने ।
८ उद्योगी व्यवसायी बन्न सहज हुने ।
९ समाजका लैङ्गिक तथा घरेलु हिंसालाई न्यूनीकरण गर्न सहज हुने ।
१० समूहमा काम गर्ने बानीको विकास हुने ।
११ नेतृत्व विकास मार्फत महिलाहरूको राजनीतिक पहुँच वृद्वि हुने ।
चुनौतीहरू :-
१ सहकारी प्रतिको बुझाइमा कमी ।
२ तालिम तथा गोष्ठीका लागि घर छोडेर हिँड्न कठिनाई ।
३ व्यवस्थापकीय क्षमतामा कमी ।
४ सिर्जनात्मक सहभागितामा कमी ।
५ खर्च गर्न डराउनु ।
६ पितृसत्तात्मक सोचमा परिवर्तन अझै आउन नसक्नु ।
७ दोहोरो जिम्मेवारी वहनले कठिनाई ।
८ स्रोत र साधन माथिको पहुँचमा कमी ।
९ आत्मविश्वासको कमी ।
१० कार्यबोझका कारणले समयको तादात्म्यता मिलाउन कठिनाइ ।
११ प्रभावकारी शिक्षा तथा तालिमको अभाव आदि ।
यी माथिका अवसर र चुनौतीलाई सामना गर्दै किसान कल्याण साकोसका महिलाहरूको सशक्तिकरणका लागि किसान कल्याण साकोसले उल्लेख्य रूपमा महिलाहरुलाई सबै क्षेत्रमा सहभागी गराई शिक्षा तथा तालिमको लागि बजेटको पर्याप्त व्यवस्था गरी आगामी दिनमा किसान कल्याण साकोस सबै क्षेत्रबाट उत्कृष्ट रहेकाले महिलाका लागि सहकारी मात्र नभई सहकारीका लागि महिला सहभागिता अवश्यक छ भन्ने उद्देश्यका साथ किसान कल्याण साकोसका महिला सबैभन्दा पहिला बनाउने गरी आगामी दिनमा अगाडि बढ्नेछ ।